काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलभित्रकै कलहले बजेट अन्योलमा परेको छ। नेपाली कांग्रेस र नेकपा एमालेबिच योजना र बजेट विनियोजनमा भागबण्डा नमिल्दा सोमबार ५ बजेका लागि तय गरिएको प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन।

स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले आफ्नो मन्त्रालयमा तोकिएको सिलिङअनुसार बजेट नपरेको भन्दै कडा असहमति जनाएका छन्। एमाले मात्र होइन, मुख्यमन्त्री कमलबहादुर शाहकै दल कांग्रेसका मन्त्री र सांसदहरू समेत बजेटमा आफ्ना योजना नपरेको भन्दै दबाब बढाइरहेका छन्। सांसदहरूले पूर्वसहमति बमोजिमका योजना समावेश नभए बजेट ल्याउन नदिने अडान लिएका छन्।

कानुनी रूपमा आइतबार राति १२ बजेभित्रै बजेट प्रणाली बन्द गरी योजनाहरू अन्तिम गरिसक्नुपर्ने भए पनि सुदूरपश्चिममा सोमबार साँझसम्म कर्मचारीहरू बजेट लेखनमै व्यस्त रहेको स्रोतको दाबी छ।

मन्त्रीहरूबिचको खिचातानीका कारण बजेटको मस्यौदाले पूर्णता नपाउँदा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक समेत बोलाउन सक्नुभएको छैन।

मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र बजेट भाषणका लागि सदनमा लैजाने संवैधानिक प्रावधान छ।

मुख्यमन्त्री शाह र आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी असन्तुष्ट पक्षका माग सम्बोधन गरेर ढिलै भए पनि आजै बजेट प्रस्तुत गर्ने अन्तिम कसरतमा जुटेका छन्।

अहिले प्रदेश सभा सचिवालयमा सांसदहरू बैठकको पर्खाइमा छन् भने मन्त्रालयहरूमा लेनदेन मिलाउने प्रयास तीव्र पारिएको बताइएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *