काठमाण्डौ । बागमती प्रदेशमा सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका छन् ।
एमालेका तर्फबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेलको नेतृत्वमा बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाइएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकारले प्रदेश सभामा बहुमत गुमाएको हो ।
नेपाली कांग्रेससँग सरकार टिकाउन आवश्यक बहुमत नपुग्ने भएकाले अब मुख्यमन्त्रीले संविधानअनुसार विश्वासको मत लिनुपर्नेछ । उनले अबको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बानियाँले विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
९ साउन २०८१ देखि बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार छ । करिब दुई वर्षको अवधिमा कांग्रेसबाट दुई जना मुख्यमन्त्री बनिसकेका छन् । कांग्रेस संसदीय दलको नेता बहादुरसिंह लामा मुख्यमन्त्री बनेर एमालेसँगको सहकार्य सुरु भएको थियो । तर लामा मुख्यमन्त्री बनेको एक वर्षपछि कांग्रेस संसदीय दलमा बहुमत जुटाएका इन्द्रबहादुर बानियाँले अविश्वासको प्रस्ताव दर्ता गरेर उनलाई हटाएका थिए ।
