काठमाण्डौ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिएका छन् । शाहबुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण राजीनामा दिएको उनको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शाहबुद्दिनले पदबाट राजीनामा दिएका हुन् । शाहबुद्दिन हसिनाका पूर्वसहयोगी हुन् ।

सन् २०२३ को अप्रिलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शाहबुद्दिनले सन् २०२४ को अगस्टमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समयमा र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हालेका थिए।

बङ्गलादेशका राष्ट्रपति राष्ट्रप्रमुख हुन् तर यो भूमिका मुख्यतया आलङ्कारिक प्रकृतिको हुन्छ, कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्रिपरिषदमा निहित हुन्छ ।

बङ्गलादेशको समाचार साइट ‘ढाका ट्रिब्युन’ का अनुसार शाहबुद्दिनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ भने राष्ट्रिय संसदका सभामुख हाफिज उद्दिन अहमदले शुक्रबार बेलुकाका लागि आपत्कालीन पत्रकार सम्मेलन बोलाएको छ ।

बङ्गलादेशको संविधानबमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *