प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ ।
नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरूले कालोमोसो दलेको हो । अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन् ।
कालोमोसो दलेको आरोपमा प्रहरीले सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिराह जिल्ला अध्यक्ष रामदेव महरालाई पक्राउ गरेको छ।
क्रान्तिकारीका कार्यकर्ताहरूले फेल भएका विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको आरोप लगाएका छन् ।
त्यस्तै परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस लेनदेन र कमिसन चलखेल गर्दै संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने गरेको समेत आरोप लगाएका छन् ।