काठमाण्डौ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ ।
पहिरोबाट बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ । प्रभावित क्षेत्रमा हिजो जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ ।
सिलिचोङ गाउँपालिकाले विज्ञप्ति निकालेर जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ ।
बस्तीको तत्काल अनुगमन, सुरक्षित ठाउँमा स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले बताए ।
सिलिचोङमा रहेको २ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा गाउँका ६०० भन्दा धेरै घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । सिसुवामा ६० किलोवाटको सिसुवाखोला लघुजलविद्युत् र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत् आयोजनामा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताए।
