काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने बताएका छन् ।
बुधबारदेखि शुरू भएको पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने कार्यशालामा उनले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोहोर्याएर मात्र विधिसम्मत ढङ्गले विश्राम लिने उल्लेख गरे ।
अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गरे । विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र नागरिकको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उनले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताए ।
आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई सङ्घर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गरे।
अध्यक्ष ओलीले राजनीतिक दल र नागरिकबीचको सम्बन्ध नङ्ग र मासुको जस्तो हुनुपर्ने पनि बताए।