काठमाण्डौ । सांसदहरूको विरोधका कारण राष्ट्रियसभाको बुधबारको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा दिएको ’नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरुद्ध भएको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक आ–आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो २६ गते मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।
यसअघि हिजो प्रतिनिधिसभाको बैठक पनि विपक्षीको अवरोधका कारण सोमवारसम्मका लागि स्थगित भएको थियो ।
प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए । उनको त्यो भनाइको विरोध हुँदै आएको छ ।