जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव धरौटी बुझाएर छुटेका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लगत्तै उनी धरौटीब बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

ठगीको कसुरमा ७ वैशाखमा सप्तरीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।

जनमतका नेताहरूको यो विवाद भने ललितपुरको इमाडोलको एक घरबाट सुरु भएको देखिन्छ । शिवा आलेको नाममा रहेको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको कित्ता नम्बर ९४३ को १४३।१२ वर्गमिटरमा ९साढे चार आना० तीन तले आठ कोठे घरको विवादका कारण उनी पक्राउ परेका थिए ।

यो खरिदका लागि भने जनमत पार्टीको सचिवालयले नै निर्णय गरेर कोषाध्यक्ष समेत रहेका यादवलाई जिम्मा दिएको बताएको थियो । त्यस वापत रकम कोषाध्यक्ष यादवलाई दिएको बताएका थिए । तर यादवले भने उक्त चुनावका बेला लगेको र अहिले तिरेको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *