काठमाण्डौ । यसअघि जस्तै संसद्मा बजेटमाथिको छलफल चल्दा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित हुने परम्पराले निरन्तरता पाएको छ ।

पुराना राजनीतिक दल भन्दा फरक ठानिएका रास्वपाकै प्रधानमन्त्री र मन्त्रीहरू प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल चलिरहँदा अनुपस्थित हुने क्रम बढेको हो । जसका कारण सोमबार र मंगलबार लगातार सांसदहरूले प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूको खोजी गर्न पुगे ।

मन्त्रालयगत बजेट छलफलका क्रममा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू नै अनुपस्थित भएको भन्दै विपक्षी सांसदहरूले मन्त्रीको खोजी गरेपछि सभामुख डीपी अर्यालले दुवै दिन १५ मिनेटका लागि बैठक स्थगित गर्न बाध्य भए ।

मंगलबारको बैठकमा सांसदहरूले रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने माग अघि सारे ।

उनीहरूले प्रतिनिधिसभा नियमावलीमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य रहेको विषय उठाउँदै सम्बन्धित मन्त्री बैठकमा उपस्थित हुनुपर्ने व्यवस्थाका कारण सभामुख बैठक स्थगित गरेर मन्त्रीको खोजीमा लाग्नुपरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *