काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन्।
यससँगै १७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। नवनियुक्त मन्त्रीहरुले मंगलबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सुधन गुरुङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाएका हन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा गोरखा–१ बाट निर्वाचित गुरुङ यसअघि २७ दिन गृहमन्त्री बनेका थिए।
गुरुङ गएको चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए। तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि छानबिन भएको थियो । छानबिनबाट ‘क्लिनचिट’ पाएसँगै गुरुङ गृह मन्त्रालयमा फर्किएका हुन् ।
महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् । पुन तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए ।
