नेपाल र मलेसियाबीचको खेल हुँदा अर्को रमाइलो संयोग पनि हुनेछ । दुवै टिममा नयाँ प्रशिक्षक छन् र दुवै अष्ट्रेलियन हुन् ।
सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप २०२७ को लागि अन्तिम चरणको छनोटका खेलहरु आजदेखि सुरु हुँदैछ । जसमा एसियामा शीर्ष १८ बाहेकका टिमहरुले अन्तिम ६ स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् ।
एसियन कप छनोटको यो तेस्रो तथा अन्तिम चरण हो । यसमा २४ टिम सहभागी छन् । उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टिम छन्।
नेपालले पनि एसियन कपको छनोटको अन्तिम चरणमा प्रतिस्पर्धा गर्दैछ । जसमा मलेसियासँग आज खेल्दै नेपालले छनोटको यात्रा सुरु गर्नेछ ।
समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल आज राती नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ । यो खेल मलेसियाको इस्कान्दर पुटेरी, जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुनेछ ।
नेपालको लागि मलेसिया बलियो टोली हो र फिफा वरियतामा नेपाल भन्दा धेरै माथि छ । हालको फिफा वरियता अनुसार मलेसिया १३२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।
अर्को तथ्य के छ भने नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । नेपालले आफ्नो पछिल्लो दुई खेलमा जित हात पारेकोले उत्सहित छ । मलेसिया पछिल्लो ११ मध्ये जम्मा दुई खेलमा मात्र पराजित छ ।
विभिन्न देशका हेरिटेज खेलाडी भित्र्याएको मलेसियन टिम पेपरमा बलियो देखिएको छ । नेपालले पनि १५ स्थान माथिको सिंगापुरलाई हराउँदै आफूलाई कमजोर नआँक्न विपक्षीलाई सजग गराएको छ ।