नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै उनलाई कारबाही हुने बताएका छन् ।
नेकपा एमालेले कास्कीमा शनिबार गरेको जागरणसभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताएका हुन् । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने ।अराजकताबादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताए । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार ९पूर्वराजालाई० बनाउने छौं,’ उनले भने ।
उनले लोकतन्त्रको विकल्प वंश परम्परा र अनिर्वाचित सत्ता हुन नसक्ने भन्दै लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने बताए । राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलको दाबी छ । ‘हिजो बाटो, स्कुल र अस्पतालको अवस्था के थियो रु हिजो प्रतिव्यक्ति आम्दानी २५१ डलर थियो । आज १४ सय डलर पुगेको कसरी बिर्सन सक्छौं,’ उनले भने, ‘हिजो र आजको तुलना गर्दा यी सबै कुरा हेर्न आवश्यक छ ।’
शिक्षक र कर्मचारीका माग सम्बोधन गर्न सरकारले बर्खे अधिवेशनबाट शिक्षा विधेयक र निजामति सेवा विधेयक पारित गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । ‘शिक्षकका माग सम्बोधन गर्ने हिसाबले आउने बर्खे अधिवेशनमा पहिलो चरणमै शिक्षा विधेयक ल्याउने छौं र पास गर्ने छौं । समितिमा छलफल चलिरहेको कुरा भएको हुनाले त्यसलाई टुंगिने प्रक्रिया हुन्छ,’ उनले भने, ‘सरकार प्रतिबद्ध रहेकाले आन्दोलनरत शिक्षकले वार्तामार्फत समाधान खोज्न आवश्यक छ ।