एक वर्षको अवधिमा नेपालमा चट्याङबाट ७८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्मको अवधिमा देशभर ४१८ वटा चट्याङको घटना भएको थियो । जसबाट ७८ जनाको मृत्यु हुनुका साथै ३०९ जना घाइते भएको प्राधिकरणको भनाइ छ ।
नेपालमा खासगरी प्रि–मनसुनको समयमा चट्याङ पर्ने गर्छ । अर्थात् मध्य फागुनदेखि मध्य ज्येष्ठ महिनासम्म चट्याङ पर्ने सिजन हो ।
चट्याङ के हो
अकासमा बिजुली चम्केर गड्याङ–गुडुङ पारेर आवाज आउनु नै चट्याङ पर्नु हो । चट्याङ पर्नका लागि आकाशमा बादल हुनैपर्छ । बादलभित्र रहेको पानीको गह्रौँ कण तलतिर झर्दा र हलुका कर्ण माथितिर जाँदा ती कर्णहरू एक अर्काबिच घर्षण हुन्छ । सो घर्षणबाट विद्युतीय चार्ज उत्पन्न हुने मौसमविद् डेभिड ढकाल बताउँछन् ।
‘यो क्रम चलिरहँदा बादलभित्र धेरै चार्ज जम्मा हुन थाल्छन्, विद्युतीय चार्ज धनात्मक ९पोजिटिभ० वा ऋणात्मक (नेगेटिभ) हुन सक्छ,’ उनले भने, ‘बादल वा जमिनको जुन वस्तु यो चार्जले मेल खान्छ । बादलमा जम्मा भएको चर्च तीव्र गतिले त्यो वस्तुमा बग्दछ । जसलाई हामी चट्याङ परेको वा बिजुली चम्केको भन्दछौँ ।’
मौसमविद् ढकालका अनुसार चट्याङ पर्दा ३५ हजार डिग्री सेल्सिसियसम्म ताप उत्पन्न हुने गर्छ । यो तापक्रम भनेको सूर्यको सतहभन्दा पाँच गुण तातो हुन्छ । यो तातोले गर्दा वायु मण्डलमा रहेको हावा एक्कासि फैलिने र खुम्चने हुन्छ । जसबाट विस्फोटको आवाज निस्कन्छ । यो आवाज नै चट्याङको अथवा मेघा गर्जन रहेको ढकालको भनाइ छ ।