काठमाण्डौ । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ ।

म्याद थप प्रयोजनका लागि सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले ३ दिन थुनामा राख्न म्याद थप गरेको हो । पौडेल गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।

पौडेलका कानुन व्यवसायी समेत रहेका विशेष अदालत बारका अध्यक्ष टिका कुँवरले दुईतर्फी बहस सकिएपछि इजलासबाट तीन दिन थुना म्याद थप्न आदेश भएको जानकारी दिए। अर्थमन्त्री रहेका बेला व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको छ । यसअघि पौडेललाई गत असार ९ गते ७ दिन थुना म्याद थपिएको थियो । पौडेलपत्नी दोमाया पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विभाग र प्रहरीसँग लिखित जवाफ माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *