समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका एक नेताका अनुसार प्रत्येक प्रदेश कमिटीहरुलाई १०–१० हजारको दरले समर्थक भेला पार्न भनिएको छ । फागुन २५ गते ज्ञानेन्द्र शाहको स्वागतमा धेरै सङ्ख्यामा मानिसहरु भेला हुँदा उत्साहित राजावादीहरुले आज त्योभन्दा धेरै व्यक्तिहरु भेला पार्ने तयारीमा छन् ।
काठमाडौं उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् ।

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।
राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।
समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् ।
आजको एसईई परीक्षा ११ बजे सकिएपछि १२ बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छ ।
दुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरुको समूहलाई चक्रपथ भन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरुलाई काठमाडौं चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ ।
गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति अनुसार प्रदर्शन र सभा गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरुको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने ठाउँ तोकिएको छ ।
कति मानिस उतार्दैछन् ?
आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । त्यसैले सकेसम्म धेरै मानिस काठमाडौंमा उतार्ने उनीहरुको तयारी छ । उनीहरुले विभिन्न जिल्लाबाट बसमार्फत् आ–आफ्ना समर्थकहरु ओसारेका छन् । केही काठमाडौं आइसकेका छन् भने केही आउनेक्रममा छन् ।
समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका एक नेताका अनुसार प्रत्येक प्रदेश कमिटीहरुलाई १०–१० हजारको दरले समर्थक भेला पार्न भनिएको छ । त्यसैगरी जनवर्गीय संगठनहरुलाई पनि ३ देखि ५ हजार जनशक्ति उतार्न भनिएको छ ।
यसैगरी विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका पनि नेता–कार्यकर्ता र समर्थकहरु थपिँदा मानिसहरुको संख्या अझै बढ्ने अनुमान छ ।
कति मानिस उत्रिन्छन् भनेर अहिले नै भन्न त सकिँदैन तर माओवादी केन्द्र निकट कार्यकर्ताहरुले ‘भ्रष्टाचार र बेथितिका विरुद्ध डेढ लाख गणतन्त्रवादी एकै ठाउँ’ लेखिएको पोष्टर सामाजिक सन्जालमा सेयर गरिरहेको देखिन्छ ।
प्रदर्शनको तयारीमा सक्रिय एक नेताले अनलाइनखबरसँग भने, ‘एक–डेढ लाख मानिस उतार्ने गरी तयारी गरिरहेका छौं, हेरौं कति भेला पार्न सकिन्छ ।’
यसैगरी राप्रपासहितको समर्थनमा राजावादीहरु पनि सकेसम्म धेरै मानिस भेला पारेर प्रदर्शन गर्ने तयारीमा छन् । आन्दोलन परिचालन समितिका एक नेताले भने, ‘यसअघि फागुन २५ गते ज्ञानेन्द्र शाहको स्वागतमा धेरै सङ्ख्यामा मानिसहरु भेला हुँदा उत्साहित छौँ, आज त्योभन्दा धेरै व्यक्तिहरु भेला पार्ने छौँ ।’