१. समाधान गर्नुपूर्व बच्चाको मनोदशा पहिल्याउने। कुनै समस्या आइपरे समाधान गर्न लाग्नुअघि बच्चाको भावनालाई एकपटक मध्यनजर गर्नु महत्वपूर्ण हुन्छ । उनीहरुको भावनालाई पहिल्याएर सहानुभूति प्रकट गर्नुपर्छ । यसो गर्दा बच्चाले आफ्नो भावना अभिभावकले बुझेको अनुभव गरी खुलेर कुरा राख्ने र सुन्ने पनि गर्छन् । जस्तो, बच्चाको मनोदशा ठीक नहुँदा उसलाई हतार गरेर चुप लगाउनु हुँदैन । बरु ‘तिमी उदास भएजस्तो देखिरहेको छौ’ जस्ता वाक्य नरम आवाजमा भन्न सकिन्छ ।

२. भाषण हैन, आवश्यक जानकारी दिऔं। कुनै कुरा सिकाउन लामो भाषण दिनु उचित हुँदैन । लामो भाषण जस्तो लाग्ने ज्ञानतर्फ बच्चाको ध्यान कम जान्छ । उनीहरु उकुसमुकुस अनुभव गर्न सक्छन् । यसको सट्टा उनीहरुलाई दिनुपर्ने आवश्यक जानकारी नरम भएर वास्तविक लाग्ने गरी दिनुपर्छ । उदाहरणका लागि, ‘यो सुत्ने समय हो । किनकि भोलि समयमै स्कुल जानुपर्छ ।’ भन्नुको साटो ‘तिमी सुत्न जाऊ, नत्र बिहान थकित हुनेछौं ।’ भन्दा उनीहरुले बढी सुन्छन् ।

३. भावना व्यक्त गर्दा ‘म’ भन्ने शब्दबाट कुरा सुरु गरौं । कहिलेकाहीं बच्चाले कुनै कुरा बुझाउन खोज्दा आफूलाई नै गलत सोच्ने गर्छन् । त्यसैले उनीहरुको कुनै व्यवहार सुधार्नु परेमा ‘म’ शब्दबाट कुरा सुरु गर्नु उपयुक्त हुन्छ । जस्तो, ‘मेरो कुरा तिमीले नसुन्दा वा भनेको नमान्दा दिक्क भइसकें ।’ यो वाक्य धेरै प्रभावकारी हुन्छ । यही भावलाई ‘तिमी कहिल्यै मलाई सुन्दैनौं वा टेर्दैनौं’ भन्ने वाक्य प्रयोग गर्दा बच्चाको आलोचना गरेको भन्दा पनि स्वयंको भावनामा बढी केन्द्रित भएको बच्चालाई लाग्न सक्छ ।

४. आदेश हैन, रोज्न दिऔं। बच्चालाई आदेश होइन रोज्न दिनुपर्छ । यसले बच्चालाई संयम हुन, सशक्त बन्न र निर्णय गर्ने क्षमतामा वृद्धि हुन्छ । उनीहरूमा स्वनियन्त्रणको भावना विकसित गर्छ । ‘अहिले गृहकार्य गर्नुपर्छ’ भन्नुको सट्टा ‘तिमी गृहकार्य खाना खानुअघि गर्ने कि पछि ?’ भनेर सोध्दा उनीहरू आफूलाई स्वतन्त्र महसुस गर्छन् । र, समय अनुकूल रहँदै गृहकार्य पनि सक्छन् ।

५. परिणामभन्दा प्रयासको प्रशंसा गरौं। बालबालिकाको प्रयासलाई प्रशंसा गर्दा उनीहरूमा सकारात्मक मानसिकता विकसित हुन्छ । ‘तिमी निकै बाठो छौ’ भन्नुको सट्टा ‘तिमीले त्यो काममा निकै मिहिनेत गर्‍यौ’ भन्नु उपयुक्त हुन्छ । यसले बच्चालाई मिहिनेत गर्न र कठिनाइ सामना गर्न सिकाउँछ । यस्तो भाष्यले उनीहरुमा मिहिनेत गर्नुअघि नै परिणाम के आउला भन्ने भय रहँदैन ।

६. प्रष्ट र सम्मानजनक सीमारेखा बनाऔं। बच्चालाई गलत र सही पहिल्याउन सिकाउन स्पष्ट नियम र सीमा बनाउनुपर्छ । के उचित हो ? के होइन भन्ने कुराको पाठ नरम भएर सहज तरिकाले व्याख्या गरी सम्मानजनक व्यवहार हुने भान गराई सिकाउनुपर्छ । उदाहरणका लागि, ‘साझेदारी गर्नु महत्वपूर्ण छ, किनभने यसले सबैलाई रमाउन मद्दत गर्छ ।’

७. समस्या सुल्झाउन सहभागी गराऔं। कुनै समस्याको समाधान आफैं दिनुको सट्टा बालबालिकालाई पनि सो प्रक्रियामा सहभागी गराउनुपर्छ । यसले उनीहरूलाई कूटनीतिक रूपमा सोच्न र समस्याको सामना गर्न सक्षम बनाउँदै लैजान्छ । उनीहरुलाई समाधान गर भन्नुभन्दा पनि ‘यो समस्या समाधानको लागि के गर्न सकिन्छ ?’ वा ‘के लाग्छ, हामीले यो समस्याको समाधान गर्न सक्छौं ? भनेर सोध्न सकिन्छ ।

८. तनाव कम गर्न ठट्टा गरौं। ठट्टा गर्ने बानीले अप्ठयारो परिस्थिति पनि हलुंगो बनाउन सघाउँछ । जसले आधा तनाव कम गर्छ । जब तनावपूर्ण अवस्था आउँछ, तब हल्का सानो टिप्पणीले परिस्थितिलाई सहज बनाउँछ । र, सकारात्मक दिशामा लैजान्छ ।

९. पटक–पटक सम्झाउने होइन, गरेको कामको प्रशंसा गरौं। धेरै सम्झाउँदा बालबालिकामा असन्तोष पैदा हुनसक्छ । यसको सट्टा उनीहरुको गरेका राम्रो व्यवहारलाई प्रशंसा गर्ने अभ्यास गर्नुपर्छ । उदाहरणका लागि, ‘तिमी सामानको जतन गर’ भनेर पटक-पटक सम्झाउनुभन्दा ‘तिमीले आफ्नो खेलौना वा पुस्तक जतन गरेर राख्यौ, राम्रो गर्‍यौ ।’ भन्नु प्रभावकारी हुन्छ ।

१०. बालबालिकाको स्वतन्त्रतालाई सम्मान गर्न सिकौं। बालबालिकाको स्वतन्त्रता र विचारलाई सम्मान गर्नु महत्वपूर्ण हुन्छ । उनीहरुलाई आफ्नो विचारलाई व्यक्त गर्न र त्यसपछिको निर्णय लिन समय दिनुपर्छ । आवश्यक पर्दा मात्रै सुझाव दिनु उचित हुन्छ । जस्तो कि, ‘आफ्नो कोठा सफा गर्न सबैभन्दा कुन राम्रो तरिका होला ?’ यस्तो प्रश्नले उनीहरुलाई जिम्मेवारी लिन प्रेरित गर्छ । माथि उल्लेखित संवाद गर्ने तरिकाले बच्चाको वृद्धि विकासको लागि आवश्यक पोषण मिल्छ । उनीहरु र अभिभावकबीच सम्बन्ध पनि कसिलो र स्वस्थ रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *