चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ मा सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ ।

धुर्मस–सुन्तली फाउन्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिई काम अघि बढाएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा प्यारापिटमध्ये एउटाको ढलान सम्पन्न गरिएको छ । अर्को ढलानको तयारी भइरहेको छ । दुवै टावरको पहिलो तलाको ढलानको तयारी हुँदैछ ।

अहिले दैनिक एक सय ७० जनाभन्दा बढी कामदारले बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेका आचार्यले बताउनुभयो । छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उहाँको भनाइ छ ।

गएको साउनमा बिबिआर जेभीले रङ्गशालाको काम शुरू गरेको हो । विसं २०८३ पुस २२ गतेसम्ममा काम सम्पन्न गर्ने गरी कम्पनीले ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँमा ठेक्का पाएको हो ।

रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड रुपैयाँ उपलब्ध गराइसकेका छन् । प्रदेश सरकारले ७० प्रतिशत र सङ्घीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रङ्गशालाको काम अघि बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *