उपत्यकामा केही सातायता आँखाले देखिने र शरीरले महसुस गर्नेगरी वायु प्रदूषण बढेको छ । अस्पतालमा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लक्षण भएका बिरामीको चाप बढेको छ ।

जाडो मौसममा देखिने रुघाखोकी तथा श्वासप्रश्वासका बिरामी चैत महिनासम्म घटिसक्नुपर्ने हो । मैले हेरेकामध्ये ५० प्रतिशत बिरामी श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने, पिनास हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, कफ आउने लगायतका समस्या लिएर आएका छन् । जसलाई वायु प्रदूषणले प्रत्यक्ष असर पुर्‍याइरहेको देखिन्छ ।

भाइरल इन्फ्लुएन्जा हुँदा हप्ता दिनमै रुघा-ज्वरो निको हुने गरेको थियो । तर वायु प्रदूषणले तीन/चार हप्तासम्म पनि निरन्तर खोकी लागिरहने, घाँटी खसखस भइराख्ने र नाक बन्द हुने समस्या लिएर बिरामी अस्पताल आइरहेका छन् ।

बहिरङ्‍गमा मात्रै होइन, आकस्मिक तथा आईसीयूमा पनि बिरामीको चाप बढ्दो छ । कतिपयलाई अक्सिजन कम हुने, निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौं ।

वायु प्रदूषणको असर दीर्घरोगी वा ज्येष्ठ नागरिकमा मात्रै देखिएको छैन, स्वस्थ व्यक्तिमा समेत देखिएको देखिएको छ । स्वस्थ मानिसलाई बारम्बार खोकी लागिराख्ने र निको हुनै गाह्रो भइरहेको छ ।

पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जो-कोहीलाई पनि वायु प्रदूषणले असर गर्छ । सँगसँगै प्रदूषणका कारण खोक्न सक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पुर्‍याउँछ ।

प्रदूषणमा धेरै खालका रसायन हुन्छन् । हाम्रो नाङ्गो आँखाले देख्ने धुलोका कणहरू ठूला साइजका हुन्छन् । रौंको रेसा ५० माइक्रोनभन्दा ठूलो साइजको हुन्छ । तर वायु प्रदूषण १० माइक्रोग्रामभन्दा पनि साना हुन्छन्, जुन फोक्सोको भित्री तहसम्म पुग्छन् । ठूला साइजका धुलाका कण माथिल्लो श्वासनली बाहिर बस्छन् । जसका कारण हाम्रो शरीरको नाकबाट पानी बग्ने, घाँटी खसखस हुने, खोक्दा कालो खकार आइरहेको हो ।

अत्यन्तै साना कण फोक्सोको भित्री तहसम्म पुग्छन् । जसले दम, श्वासप्रश्वासमा समस्या, छातीमा संक्रमण हुन्छन् । साथै केहीमा पुरानो दमसँग सम्बन्धित समस्या छ भने अचानक दम हुने, श्वासप्रश्वासमा समस्या, अक्सिजनको मात्रा कम हुने र बेहोस नै हुने अवस्था आउँछ ।

वायु प्रदूषणले रोगसँग लड्ने क्षमतासमेत घटाउँछ । बालबालिका, वृद्ध उमेरका मानिसमा निमोनिया हुने, छातीमा संक्रमण हुने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *