शान्तिपूर्ण प्रदर्शन हुने दाबी गरेका राजावादीले सुरुदेखि नै भीडलाई उत्तेजित बनाउन खोजिरहेका थिए । जब कमान्डर दुर्गा प्रसाईको प्रवेश भयो, त्यसपछि स्थिति नियन्त्रणबाहिर पुग्यो ।
शुक्रबार दिउँसो साढे १२ बजे तीनकुने पुग्दा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको ब्यानर बोकेका प्रदर्शनकारीले नाराबाजी थालिसकेका थिए ।

अग्रपंक्तिमा रहेका युवाले प्रारम्भदेखि नै उग्र नारा लगाउन थालेपछि प्रहरीले संयमित गराउन सम्झाउने कोशिश गरिरह्यो । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख दल प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई मुख्य तारो बनाएका थिए, उत्तेजक र अभद्र शब्दसहित नारावाजी गरेका थिए ।
सुरुमा राजतन्त्र जिन्दवाद, हाम्रो राजा, हाम्रो देश, नालायक सरकार मुर्दावाद जस्ता नारा लगाएका उनीहरु पछि शीर्ष नेताहरुमाथि खनिएका थिए ।

राजा महेन्द्र र योगी नरहरिनाथको तस्वीर समेत बोकेका उनीहरुले शीर्ष नेताहरुको नाम लिएर ‘टुकुचामा गाड्नु पर्छ’ भन्ने अभिव्यक्ति समेत दिए । त्यही हुलमा रहेका एक जनाले पृथ्वीनारायण शाहको तस्वीर समेत बोकेका थिए ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले सोमबार राति संघीय सरकारसँगको विवादमा सामाजिक सञ्जाल फेसबुकमा आफ्ना कर्मचारीहरुले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु भन्दै लेखेका थिए । बालेनको त्यही अभिव्यक्तिलाई आन्दोलनमा उत्रिएका युवाले प्रयोग गरेका थिए ।

प्रहरी वृत्त, बानेश्वरको तीनकुनेस्थित कार्यालयबाट करिब ३ सय मिटरको दूरिमा प्रहरीले प्रदर्शनकारीलाई छेकेपछि अग्रपंक्तिमा रहेकाहरुले नारा थप चर्काएका थिए । प्रहरीले त्यहाँबाट प्रदर्शनकारीलाई अगाडि बढ्न नदिने नीति लिएको थियो । यसबारे प्रदर्शनको नेतृत्व गरेकाहरुलाई प्रशासनले पहिल्यै जानकारी गराएको थियो ।

त्यहीबीच बानेश्वरतर्फबाट विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास देखा परे । उनी तिनै धर्मगुरु हुन्, जसले हिन्दुराष्ट्रको मुद्दा चर्काउने भन्दै आफैंलाई गोली हान्न लगाएका थिए । आन्दोलनमा उनको प्रवेशसँगै प्रदर्शन उग्र बन्न सक्ने प्रहरीले आँकलन गरेको थियो ।

यद्यपि, मध्याह्न १२ः४५ तिर त्यहाँ पुगेका श्रीनिवासलाई प्रहरीले नै समन्वय गरेर मुख्य कार्यक्रमस्थलतिर पठाइदिएको थियो । तीनकुनेको चौरमा राजावादी समूहले प्रदर्शन राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *