काठमाण्डौ । भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ । परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले यही जुन २२ सम्म टेलिग्रामलाई प्रतिबन्ध लगाएको समाचार संस्था एएफपीले जनाएको छ ।
गएको महिना प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा (एनईईटी) रद्द भएको थियो । यो परीक्षा अब जुन २१ मा हुने तय भएको छ । यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षामन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शनसमेत चर्किएको छ । यस घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।
एनईईटी भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षामध्ये एक हो । यो परीक्षामा २० लाखभन्दा धेर विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा गर्छन् ।
भारतमा परीक्षा तयारी ठूलो उद्योगका रूपमा विकसित भएको छ र लाखौँ विद्यार्थी राम्रो नतिजाका लागि वर्षौँसम्म कोचिङ सेन्टरमा अध्ययन गर्छन् । तीव्र प्रतिस्पर्धा र सीमित अवसरका कारण धेरै विद्यार्थीमाथि ठूलो मानसिक तथा आर्थिक दबाव पर्ने गरेको छ ।
यसै दबाव र असमान अवसरका कारण परीक्षा प्रणालीसँग सम्बन्धित असन्तोष समय–समयमा देखिँदै आएको छ ।
परीक्षाअघि नै प्रश्नपत्र सार्वजनिक भएको प्रकरणमा भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेशन ९सीबीआई० ले अनुसन्धान गर्दै एक रसायनशास्त्र शिक्षकलाई मुख्य योजनाकारका रूपमा पक्राउ गरेको छ । उनीमाथि परीक्षा प्रणालीसँग प्रत्यक्ष संलग्न रहेको आरोप छ ।
भारत सरकारले हिजो एउटा विशेष अनलाइन पोर्टल पनि शुरू गरेको छ । यो पोर्टलर्फत नागरिकले एनईईटीसँग सम्बन्धित शङ्कास्पद गतिविधि, अनधिकृत सामग्री वा ठगीका घटनाहरू रिपोर्ट गर्न सक्नेछन् ।
परीक्षा प्रणालीमा डिजिटल मार्किङ र अनलाइन मूल्याङ्कनसम्बन्धी अन्य विवादहरू पनि यस घटनासँगै सतहमा आएका छन् । धेरै विद्यार्थीहरूले गलत ग्रेड दिइएको वा नतिजा वितरणमा त्रुटि भएको गुनासो गरेका छन् ।
भारत तीव्र आर्थिक वृद्धिको अवस्थामा रहे पनि लाखौँ युवाहरू स्थिर रोजगारी र उच्च प्रतिस्पर्धात्मक करियर सुरक्षित गर्न सङ्घर्षरत छन् । यसले परीक्षामा सफलता प्राप्त गर्ने दबाव अझ बढाएको छ र परीक्षा केन्द्रित सामाजिक संरचना अझ जटिल बनेको छ ।
