काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्री गुरुङ गुरुङविरूद्ध उजुरी परेको हो।

हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन् गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् ।

आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिइ घटनाको सत्यतथ्य जाँचबुझ गर्न माग गरिएको छ ।

गृह मन्त्री तथा सांसद सुदन गुरुङको टोली प्रवेश गरेको गत जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिई सुरक्षित गर्न समेत माग गरिएको छ।

त्यस्तै पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्रै पुगेर ज्यान मार्ने धम्की दिने र मानसिक यातना दिने गृहमन्त्री गुरुङ र निजको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन तथा अनधिकृत व्यक्तिलाई संवेदनशील क्षेत्रमा प्रवेश गराउने जिम्मेवार प्रहरी कर्मचारीहरूलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन जारी गर्न माग गरिएको छ।

राष्ट्रिय जेनजी नागरिक अभियानले गत जेठ २१ गते प्रेस विज्ञप्ति जारी गर्दै गुरुङले दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी उनीहरूमाथि मानसिक दबाब सिर्जना गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा राजनीतिक प्रभाव प्रयोग गर्ने प्रयास गरेको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *