काठमाण्डौ । गत बिहीबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयास पछि उपचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त, साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् ।

नेपालीको शव गए राति वीर अस्पतालबाट महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको छ । तर आफन्त र समर्थकहरूले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोज्दा केही समय प्रहरीसँग धकेलाधकेल भएको थियो ।

यस्तै जनपक्षीय ट्रेड युनियन महासंघले पनि गणेश नेपालीलाई आत्मदाहको गर्ने परिस्थिति राज्यले पुर्‍धाएको भन्दै विरोध प्रदर्शन गरेको हो । महासंघले माइतीघरमा गरेको प्रदर्शनमा सहभागीहरूले युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्‍यायो ? भन्ने ब्यानरसहित आन्दोलनमा सहभागीहरूले वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिएका छन् ।

गत बिहीबार गणेश नेपालको मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाइदिएपछि गणेश र महानगर प्रहरीबीच विवाद भएको थियो । महानगर प्रहरीले उहाँको मोटरसाइकल गाडीमा हाल्न खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाउनुभएको थियो । घटनापछि प्रहरीले तीन जना महानगर प्रहरीलाई सोधपुछ गरेर छाडेको छ ।

घटनाको छानबिनका लागि काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *