किराँत राई समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान् चाड साकेला उभौली मनाउन सुरू गरेका छन् ।
‘अन्नबाली सप्रियोस, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समुदायको साकेला उभौली चाड सोमबारबाट मनाउन सुरु गरेका हुन् ।
भूमि, पितृ र अन्नको पूजाआजा गरी यो चाड मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंमा रहेका किराँत राई समुदायले सोमबार ललितपुरको नखिपोटमा कार्यक्रमको आयोजना थिए । काठमाडौ उपत्यकामा बसोबास गर्ने किराँत राई समुदायले चाडको अवसरमा साकेला नाचेर रमाइलो गरेका छन् ।
अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गरी यो पर्व मनाउने गरिएको किराँत राई समुदायका अगुवाहरु बताउँछन् । प्रकृतिको पूजाआजा गरे बालीनाली सप्रने किराँत राई समुदायको धार्मिक विश्वास रहिआएको छ ।
साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाँच्न सुरु गरिन्छ । यो चाड अन्नबाली छर्ने बेला अर्थात् वैशाख र अन्नबाली भित्र्याउने बेला मंसिर पूणिर्मामा दुई पटक दुई महिनासम्म मनाउने चलन छ ।
यसै अवसरमा किराँत राई समुदायहरुले आपसमा सुख, शान्ति र समृद्धिको कामना सहितको शुभकामना आदानप्रदान पनि गर्ने गर्दछन् ।
नेपालमा राई, लिम्बु, याक्खा र सुनुवारहरु किराँत समुदायमा पर्दछन् । उनीहरुले आफ्नो इतिहासलाई जोगाइराख्न पनि यो चाडलाई भव्य रुपमा मनाउने गरिएको बताएका छन् ।
साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् ।
किरात राई समुदायको साकेला उभौली चाडको अवसरमा नेपाल सरकारले एक दिन अर्थात् सोमबार सार्वजनिक बिदा समेत दिएको छ । सोमबार किरात समुदायको साकेला उभौली चाडसँगै बुद्धजयन्ती समेत परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।