दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने पक्का भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता तय गरिएको मितिमा सम्भव नहुने बताएका हुन् । सरकारले यसअघि प्रतियोगिता जेठ ३ गतेदेखि १० गतेसम्म कर्णाली प्रदेशमा गर्ने घोषणा गरेको थियो। तर, तयारी नपुगेको भन्दै राखेप उपाध्यक्ष ध्रुव आचार्य र एमाले निकटका बोर्ड सदस्यहरूले बिहीबार मन्त्री चौधरीलाई भेटेर प्रतियोगिता समयमै हुन नसक्ने जानकारी गराएका थिए । यही सन्दर्भमा निर्णय गर्न शुक्रबार बैठक बोलाइएको थियो। ढिलोगरी सुरु भएको उक्त बैठकमा मन्त्री चौधरीले प्रतियोगिता जेठमा सम्भव नहुने घोषणा गरे ।

खेलकुदमन्त्री चौधरीले प्रतियोगिता तयारीका लागि ११ वटा उपसमिति गठन गरेर प्रक्रिया अगाडि बढाएको देखाए पनि ती उपसमितिका संयोजक तथा सदस्यहरू नै प्रतियोगिता समयमै हुन सक्नेमा विश्वस्त थिएनन् । खेलकुद मन्त्रालय सम्हालेपछि मन्त्री चौधरीले प्रतियोगिताको मिति तीनपटक सारिसकेका छन् । सुरुमा मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको प्रतियोगिता सरकार परिवर्तनपछि अनिश्चित बनेको थियो। त्यसपछि चैत २३ देखि ३० मा सारिएको मिति फेरि परिवर्तन गर्दै जेठमा तय गरिएको थियो । प्रतियोगिताका लागि सरकारले ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पहिलोपटक पाएको कर्णाली प्रदेशले झन्डै दुई अर्ब रुपैयाँ बराबरको पूर्वाधार निर्माण गरिसकेको छ ।

यद्यपि तयारीको अवस्था हेर्दा तत्काल प्रतियोगिता सम्भव नदेखिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *