सहकारी ठगी मुद्दामा धरौटी तिरेर थुनाबाट छुटेका रास्वपाका सभापति रवि लामिछाने १६३ दिन अर्थात् साढे पाँच महिनापछि पार्टी काममा फर्कने भएका छन् । रास्वपा कार्यवाहक मनीष झाले दिएको जानकारी अनुसार लामिछाने सोमबारबाट सभापतिको हैसियतमा फेरि सक्रिय हुनेछन् ।
२४ माघमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएयता लामिछाने पार्टी राजनीतिमा सक्रिय भएका थिएनन् । उनी यो बीचमा मन्दिरहरुमा पूजाअर्चनामा सामेल हुनेबाहेक सार्वजनिक कार्यक्रममा सहभागी थिएनन् । सहकारी संस्थाहरुको बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै प्रतिनिधिसभाले उनको सांसद पद निलम्बन गरेको छ ।
यस अर्थमा लामिछानेलाई पार्टी जीवनमा सक्रिय बन्न नैतिक प्रश्न भने बाँकी नै छ । तर यो प्रश्न थाती राख्दै उनी रास्वपाले सोमबार बोलाएको केन्द्रीय समिति बैठकको दोस्रो सेसनको अध्यक्षता गर्न चमतीस्थित कार्यालय पुग्नेछन् ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कार्यवाहक सभापति डीपी अर्यालले धन्यवाद मन्तव्य राखे लगत्तै दोस्रो बैठक बस्नेछ । त्यो बैठकको अध्यक्षता लामिछानेले गर्नेछन् ।
योबीचमा राष्ट्रिय जीवनका गम्भीर विषयहरुमा मौन बसेका लामिछानेले आफू सक्रिय बन्नलाई राजावादीहरुको हिंसात्मक प्रदर्शनपछिको अशान्त घडी रोजेका छन् । राजतन्त्र र गणतन्त्रको बीचमा ध्रुवीकरण बढ्दै जाँदा उनले पार्टीपंक्तिलाई ‘ग्रे-जोन’ रहन निर्देश गरेका थिए । अगाडिको परिस्थिति कसरी बढ्छ भन्ने सुक्ष्म विश्लेषण गरेरमात्रै रणनीति बनाउनुपर्ने उनको प्रस्ताव थियो ।
यद्यपि रास्वपाका केही सांसद र नेताहरुले भने गणतान्त्रिक संविधानको पक्षमा यसअघि जलेश्वर बैठकबाट पार्टीले अख्तियार गरेको नीतिमा बलियो ढंगले उभिनुपर्ने अडान राखेका थिए । रास्वपा यही दुईखाले सोचाइको तानातानमा थियो ।